Lekhnath Paudyal Poet (Nepal) : लेखनाथ पौड्याल नेपाली कविता

 नैतिक दृष्टान्त / लेखनाथ पौड्याल कविता

बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित।।
गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन।।
दबिन्छ गुणिको दोष गुणका राशिमा परी।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी।।
कसैको लोकमा छैन एकैनास समुन्नति।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति।।
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ।।
ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक।
गरदैन कुनै सोझो ग्रहको पूजना--दिक।।
टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित।
बोलने को अँध्यारोमा महा--त्मा जुन्किरीसित।।
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति।।
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा।
एकता हेर कस्तो छ मौरीको महमा सदा।।
जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर।
जो हो नवर्षने मैघ उसैको हुन्छ घर्घर।।
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक।।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि।।
योग्य स्थानविषे मान सानाले पनि पाउँछ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र।।
मेटिंदैन कसैबाट आफनू कर्मपद्धति।
बनवासी बने राम चौधै भुवनका पति।।
धर्म हो धीरको धैर्य राखनू दु:खजालमा।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा।।
सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?
सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ।
दूधपान गरी सर्प खालि विष बहाउँछ।।


पिँजराको सुगा / लेखनाथ पौड्याल कविता

बालक बबुरो द्विज शुकनामा, हुँ म परेको छू पिंजरामा ।
मकन हरे ! शिव शान्ति र चैन, सपनाविच पनि रतिभर छैन ।।
मेरा बान्धव बाबु र आमा, बस्छन् वनका एक कुनामा ।
कोसित पोखू मनको ताप; गर्दै पिंजराबाट . विलाप ॥
आँसु बगाई कहिले रून्छु, कहिले मुर्दातुल्य म हुन्छु ।
कहिले पागलसरि उफ्रन्छु, केवल वनका - सुख सम्झन्छु ।
फलफुल खाई नित्य रमाई, वनमा फिर्ने बबुरालाई ।
विधिले पार्यो पिंजराभित्र, कर्म हरे ! शिव ! हुन्छ विचित्र ।।
कति फिर्दो हूँ कति उड्दो हूँ, कति कति देशान्तर डुल्दो हुँ ।
देव ! हरे ! किन बालकलाई, बन्धन पायो व्यर्थ भुलाई ॥
शीतल पानी, कुञ्जनिवास, भोजन मीठो फलको खास ।
त्यो सब हुन गो अाज बिनाश, बाँकि छ एकै मनको त्रास ॥
हरिया वनको शीतल छाया. वान्धवसंगको मोह र माया ।
खेल्नू डुल्न फलफुल खाई, सपनामय भो हाय ! मलाई ॥
वृद्ध महातुर बाबा जननी, आँसु खसाली दीन बनी ।
नित्य बैदा हुन हाय ! विधाता, तोडिदियौ किन त्यो दृढ नाता॥
वरिपरि बैरीहरू छन सारा छैन कतैतिर कोहि सहारा ।
के गरूँ कसरी उम्की जाऊँ कोसित मनको दर्द बिसाऊँ ॥
यो सब गगनै भरमा खास. जसका हन्थे भोग-विलास ।
उसको अब हा ! जीवन पात्र, केवल सानो पिंजरा मात्र ॥
१०
पिंजरा फोडू भनिकन चुच्चो, बलसंग धस्ता भो सब बुच्चो ।
बेसरी कुँजिए पक्ष र पाउ, कसरी अब हा ! काल बिताऊँ ॥
११
कहिले ठण्डी कहिले धूप, कहिले बकबक कहिले चूप ।
बालकहरूको मन अनुसार, हुन्छ निरन्तर भाग्य-विचार ॥
१२
भाग्यतमाशा जब सम्झन्छु, अनि पछि सिल्लीतुल्य म हुन्छ ।
आँसु बहन्छन् छाति चिरिन्छ, चित्त निरन्तर रोइरहन्छ ॥
१३
उठ्तछ मनमा घोर तरंग, सबतिर हेरी हुन्छ भरङ्ग ।
प्राण नजाने काल नआई, के गरूँ कसरी बाँचू हाई ॥
१४
खानु छ खाली तौली धान, त्यो पनि आधा पेट छ जान ।
हेर्दछु भाँडो पानी छैन, भोगिरहेछु यस्तै चैन ॥
१५
शुष्क छ घाँटी बन्धन चर्को, बोल्नै पर्ने झर्को अर्को ।
बोलि नबोले लट्ठि उजाई, हुन्छ तयारी पिट्नालाई ॥
१६
यौटा भन्दछ यो हो पाजी, अर्को भन्दछ यो छ विराजी ।
भन्दछ तेस्रो 'आत्माराम, पढोपढ़ो जी ! राखो नाम' ॥
१७
यो कस्तो हो ? कसरी आयो ? बसिकन पिंजराबिच के खायो । .
यो सब बुझ्ने कोही छैन, हाय ! यसैले मन रहँदैन ॥
१८
जीवन भी बन्धनभित्र, बोल्नैपर्ने बोलि विचित्र ।
तैपनि चारा आधा मात्र, देव ! रहेछौ करूणापात्र ॥
१९
देव ! दिएथ्यो तिमिले एक, मीठो बोल्ने शक्ति विवेक ।
पाइरहेछु सोहीद्वारा, बन्धन, गाली. धम्की सारा ॥
२०
मकन दिलाई संकट जेल, मानिस गर्ने कौतुक खेल ।
यो कस्तो हो पापाचार, दीनदयालो ! लाऊ पार ॥
२१
गुणको वैरी मानुषजाति, शुष्क गराई गुणिको छाती ।
प्राण पखेरू नलिएसम्म, खुश किन हुन्थ्यो ? हाय ! अचम्म ॥
२२
पृथिवी तलमा यौटासम्म, मानिस बांकी रहँदासम्म ।
तुच्छ सुगाको जन्म नदेऊ, दीन दयालो ! बिन्ती लेऊ ॥

अरुणोदय / लेखनाथ पौड्याल कविता

(१)
जय जगदीश्वर ! मनको रहमा,
शून्य गगनमय भित्री तहमा,
पलपल शीतल कलना-लहरी
कलकल गर्छन् ठहरी ठहरी ॥
(२)
मधुर ध्वनिको श्रवण-विवरमा
रेखा खिचियो पञ्चम सुरमा ।
जति–जति डुबिकन हेर्दछु भित्र
उत्ति-उति मिल्दछ भाव पवित्र ॥
(३)
प्रमुदित तेही भाव तमाम
गर्छ नखीको कोमल काम,
जसले गर्दा बारम्बार
झम्कन थाल्यो हदय-सितार ॥
(४)
नासा-पुरमा थरि थरि महक
कसको - कसको पाई बहक
लहबरी खेल्दै चहचह गर्छ,
 सुखका शीतल सीकर छर्छ ।
(५)
तप सपनाको पर-पर सर्छ ।
नयन-सरोरुह सरसर गर्छ ।
सुन्दर शीतल' । बिजुली दिनमा
दौडन थाल्यो हृदय - गगनमा ॥
(६)
उस बिजुलीका क्षणिक झलकमा
झल्क्यो अदुभुत दृश्य पलकमा
कृश रजनीको दीन मुहार,
मलिन फिका सब गहना हार ॥
(७)
सिम्रिक सारा पर छरिएको,
चादर फुस्रोपन भरिएको
आँशु बहेकी रजनी बिचरी
छटपटिएकी कसरी, कसरी ?
(८)
रजनी ! रजनी ! बस अलि बेर,
जनिगर, नदगुरं रन्थनिएर,
नजर फिराई । अलिकति हेर
पूर्व गुलाफी खोपीनेर ॥ ..
(९)
बालक दिनकर भरखरका ती .
सुस्त पसारीकन कर माथी
गर्छन् खोजी प्रिय जननीको,
विन्ति छ रजनी नगर ननीको॥
(१०)
हुनत उषाले लेली काख
प्रणय बढाई मानी चाख,
किन्तु तिमी पनि ममता राख,
धाईभन्दा जननी साख ॥
(११)
अलि दिन श्यामल चादरभित्र
उज्ज्वल रागी बाल पवित्र
गुटुमुटु पारी गुम्म तताऊ
अनि झलनामा माथी ल्याऊ ॥
(१२)
बसि बसि म पनी तेतीजेल
हेर्दछु रजनी ! रसिलो खेल ।
अतिशय राम्रो पारें फेला
शारद* अरुणोदयको बेला ।


वयोवृद्ध कोकिलको वासन्तिक अनुताप / लेखनाथ पौड्याल कविता

उज्यालो त्यै अग्लो हिमचुली छ, त्यै नील गगन
तिनै खोला नाला, रुखहरू तिनै, त्यै छ पवन ॥
म त्यै छु, त्यै प्यारो खगजुनि छ, त्यै चञ्चुपुट यो
कठै ! त्यो आनन्दी मधुर वय मेरो तर गयो ॥

जवानीको चढ्दो अति चहकिलो रङ्ग रसमा
म देख्थें नाचेको सकल वनमा स्वर्ग-सुखमा ॥
थलामा घन्केको कुहँ कुह कुहँ कौतुक थियो
कठै ! त्यो मानन्दी मधुर वय मेरो सब गयो ॥

जुनेली वासन्ती सरस निशिको अन्त्य पहर
जसै देख्थें लाग्थ्यो हृदयबिच संगीत-रहर
चुचो खोल्थें बोल्थे तन मन सबै गद्गद थियो
कठे ! त्यो आनन्दी मधुर वय मेरो अब गयो ॥
 
पखेटा छन् लाटा, चल गतिको गौरव छुटयो
चनाखा आँखामा किन किन धमीलोपन जुटयो ॥
बलाँतीझै छाती, तन सब जरा-जर्जर भयो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ।

दिशा यो माहेन्द्री, उदयगिरिमा त्यो सुनहरी ।
उषाका उठ्दैछन् अति मदुल आलोक-लहरी ॥
म बोलू भन्दैछु, तर सब गला घर्घर छ यो
कठै ! प्रानन्दीत्यो मधुर चय मेरो सब गयो ॥

ईश्वर-स्तुति / लेखनाथ पौड्याल कविता

जय जगदीश्वर ! जय अविनाशी
जय जय भगवन । करुणाराशि ।
शक्ति छ प्रभुको अपरम्पार
घुम्दछ जसमा सब संसार ॥१॥

जलचर, थलचर, ग्रहगण, तारा
सूर्य लगायत सुर, मुनि सारा ।
केवल प्रभुको करुणा पाई
गर्छन् निज-निज कर्म रमाई ॥२॥

सुर-मुनिदेखि भुसुनासम्म
प्रभु नै सबका घटमा टम्म ।
प्रभुका लेखा प्राणीमात्र
पुत्र-बराबर करुणा-पात्र ॥ ३ ॥

प्रभु नै सब सुख-सम्पति-दाता
प्रभु नै सबको भाग्य-विधाता।
प्रभु नै सबमा करुणाधारी
प्रभु नै सबको पालनकारी ॥ ४ ॥

बालक हामी शिर निहुराई
प्रभुका पदमा भक्ति लगाई
पढ्न तयारी छौँ सब नाथ !
पार लगाऊ करुणा-साथ ॥५॥

(स्रोत : हाम्रो नेपाली किताब – कक्षा ६)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Rajasthani Lokgeet Lyrics in Hindi राजस्थानी लोकगीत लिरिक्स

बुन्देली गारी गीत लोकगीत लिरिक्स Bundeli Gali Geet Lokgeet Lyrics

Amir Khusrow Dohe Kavita अमीर खुसरो के दोहे गीत कविता पहेलियाँ