Bhupi Sherchan (Nepal) : भूपि शेरचन नेपाली कविता

 मर्दैछ हामीमा हामी बाँचेको युग / भूपी शेरचन

बाँधका मुहान
अनि खोला नाला र तालका कुरहरुमा
थापेजस्तै माछा समाउने पोडेहरुले डोका र जालहरु
यो युग जसमा बाबुहरुले
भोगपछिको जिम्मेदारीसँग बाँच्न
थाप्छन
गर्भाशयतिर लम्केका आफ्नै सम्भावित सन्तान
शुक्रकीटहरुलाई नष्ट गर्ने पासोहरु
र आमाहरु
आफ्नै आनन्दलाई चिन्तामुक्त गर्छन्
गर्भाशयको ढोकामा
आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई
निषेध गर्ने पालेहरु उभ्याएर
यो युगमा जसमा
भाग्यवश
संयोगवश
पाएभने कसैले प्रवेश गर्भाशयभित्र
तीमध्ये पनि कैयन् नष्ट गरिन्छन्
आफ्नै आमा–बाबुद्वारा खटाइएका
जिउँदो वा मुर्दा समाउने आदेश पाएका
यमदूतमरुद्वारा
यस युगमा
यस्तो युगमा जन्मेका छौं हामी
जन्मिनुअगावै मृत्युको त्रास बोकेर
हत्याको सुईको पाएर
आएका छौँ हामी यस पृथ्वीमा
आफ्नै निर्माताहरुको इच्छाविरुद्ध
उनीहरुको षड्यन्त्रलाई तोडेर
पहिलो पटक
नीलो चहकिलो आकाशमुनि पहिलो पटक
हरियो भरियो पृथ्वीमाथि पहिलो पटक
पहिलो
पहिलो
र पहिलो पटक
खोल्यौँ पनि त हामीले आँखा यस धरतीमा
पोलिनलाई ठीक भइसकेका
नाजी ग्याँसच्यम्बरका कैदीहरुले मूर्छा परेर
अन्तिम घडीमा मुक्तिपाएर आँखा खोलेजस्तै
आफूलाई मृत
र आँखाअगाडिको संसारलाई
मृत्युपछिको अर्कै लोक भन्ठानेर
त्यसैले हामी बाँचिरहेका छौँ
बाँच्नुप्रति चिसो र शङ्कालु भएर
र हामी हुर्किरहेका छौँ त्यस युगमा
जुन युगमा
हामीभित्र
हामी सँग–सँगै
हर्किरहेको छ एउटा तीव्र अनास्था
स्वयं यस युगप्रति नै
यस युगको अस्तित्वप्रति नै।

(२०२४–रुपरेखा)


अभिशप्त घर / भूपी शेरचन

जब–जब बायाँ र दायाँ पट्टिका छिमेकीहरुले
एकार्काको छानामाथि ढुङ्गा बर्साउँछन्
यस घरको छानामा घाम ताप्न बसेकी बूढीको चश्मा र
कौसीमा रमिता हेरिरहेकी दुलहीका चुराहरु फुट्छन्,
आधारातमा जब छिमकीहरुले आपस्तमा
जहाँबाट जे पायो त्यसैले कुटाकुट गर्छन्
भोलिपल्ट विउँझेर यस घरको बातको रोगी वूढाले
आफ्नो लौरी भाँचिएको पाउँछ।
यस्तो छ अभिशप्त घर
डढेलोको बीचमा उम्रेको खरजस्तो छ यो घर।


ए जून! / भूपी शेरचन

मेरो जस्तै ए जून!
झूटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ हामी दुइटाको कहानीमा
कि तिमी रुन्छौ र तिम्रो आँसु शीत बन्छ
म रुन्छु र मेरो आँसु गीत बन्छ।

(२०१९–रुपरेखा)

गलत लाग्छ मलाई मेरो देशको इतिहास / भूपी शेरचन

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोको बीचमा माटो खनेेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यो भूकम्पपीडित मन्दिर
र ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधैँ त्यही– सधैँ उस्तै र
सधैँ एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधैँ
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
देश–विदेशमा,
यूक्लिप्टसका रुखझैँ नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल चूपचाप उभिएका
आफ्नो आत्माको गीत झारेर
तब मलाई गरुँ–गरुँ झैँ लाग्छ
आफ्नै रगतको उपहास
ेजब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लिहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सूुन्छु : अमरसिंह काँगडासम्म बढेको कुरा
सूुन्छु : तेन्जिङले सगरमाथा चढेको कुरा
सूुन्छु : बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सूुन्छु : अर्निकाले कलाले विश्व–मन हरेको कुरा
सूुन्छु : सधैँ सुन्छु र केवल सुन्छु
तर मलाई
हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास।


घुम्नेमेचमाथि अन्धो मान्छे / भूपी शेरचन

दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर,
घाउहरु कोट्ट्याएर
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर
दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँसडक– असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ
किसिम–किसिमका पोशाकमा
ओहोर–दोहोर गर्छन् थरीथरीका हल्लाहरु्
फुलपारेको कुखुराझैँ कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ–ठाउँमा अन्भकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशकदेखि तर्सेर
अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ
र नपाएर विस्मृतिको लेथे नदी
रक्सीको गिलाँसमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनि र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलीबाट एउटा सूर्य उदाएँछ,
सधैँ रक्सीको रित्तो गिलाँसमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ प बसेको पृथ्वी– पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदैखि,
दृश्यहरुदेखि,
रमाइलो देखि,
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै।

(२०१८–रुपरेखा)




टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Rajasthani Lokgeet Lyrics in Hindi राजस्थानी लोकगीत लिरिक्स

बुन्देली गारी गीत लोकगीत लिरिक्स Bundeli Gali Geet Lokgeet Lyrics

Amir Khusrow Dohe Kavita अमीर खुसरो के दोहे गीत कविता पहेलियाँ